नेपालमा प्रत्येक चार जना महिला मध्ये १ जना लैगिक हिंसाबाट पीडित
-नेपालमा प्रत्येक चार जना महिला मध्ये १ जना लैगिक हिंसाबाट पीडित भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । समाजमा विद्यमान सामाजिक कुप्रथा एवं विकृतीका कारण महिलाहरु हिंसामा पर्ने गरेको राष्ट्रिय महिला आयोगको पछिल्लो प्रतिवेदनले देखाएको हो ।
सबैभन्दा बढी महिलाहरु घरपरिवारबाटै पीडित हुने गरेका छन् । राष्ट्रिय महिला आयोगमा गत आर्थिक वर्षमा मात्रै घरेलु हिंसाका मात्र २२ सय घटनाहरु दर्ता भएका छन् । आफ्नै श्रीमान् तथा परिवारका सदस्यहरुबाट महिलाहरु सबैभन्दा बढी हिंसामा पर्ने गरेका छन् । परिवार, आफन्त तथा समाजबाट महिलाहरु पिडित हुने क्रम अझै जारी छ । गत आर्थिक वर्ष मात्र २ हजार भन्दा बढी बलात्कारका घटना दर्ता भएको नेपाल प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न अध्ययनका अनुसार महिला घरेलु हिंसा, यौन हिंसा, मानव बेचबिखन, दाइजो प्रथा, बोक्सी प्रथा, छाउपडी प्रथा जस्ता हिंसाबाट पीडित छन् । यसैबीच मंसिर १० गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सकिदैंछ । महिला हिंसा विरुद्धका अभियानहरुलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।