नेपाल सरकार र एडीबीबीच परियोजनाका लागि सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार यान्त्रिक सिँचाइसम्वन्धि परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड रुपैयाँ ऋण तथा दुई अर्ब रुपैयाँ अनुदान दिनेछ ।
त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि एक अर्ब ३५ करोड रुपैयाँ ऋण र दुई अर्ब ९७ करोड रुपैयाँ अनुदान दिने सम्झौता भएको हो । मधेश प्रदेशको रौतहट र सर्लाहीमा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । सो परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ ।