राष्ट्रिय

सरकारले रोजगारी प्रदान गर्ने शिक्षा दिन्छः प्रधानमन्त्री ओली

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सरकारले अब रोजगारी खोज्ने शिक्षाभन्दा पनि रोजगारी प्रदान गर्ने शिक्षा दिने दाबी गर्नुभएको छ ।

काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औं विश्वद्यालयको पहिलो चरणको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अब रोजगारी प्रदान गर्न केन्द्रित भएको र यसमा काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षाको पनि आवश्यकता रहेको जिकिर गर्नुभयो । व्यक्तिलाई शैक्षिक योग्यताले भन्दा पनि व्यवहारले चिनाउने भएकाले व्यवहारिक शिक्षा अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

केयूबाट १ हजार २ सय ५६ जना विद्यार्थी दिक्षित

काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा विभिन्न ७ संकायका १ हजार २ सय ५६ जना विद्यार्थी दिक्षित भएका छन् ।

जसमध्ये पीएचडी तहका ३, पीजिडी तहका ५१, एमफिल तहका ३३, स्नातकोत्तर तहका ३ सय ८५ र स्नातक तहका ७ सय ८४ जना छन् । त्यस्तै, विश्वविद्यालयबाट अहिले सम्म ५ हजार भन्दा बढी विदेशी विद्यार्थी दिक्षीत भएका छन् ।

अहिलेसम्म विभिन्न देशका ५ हजार ५ सय ४२ जना विद्यार्थी दिक्षीत भईसकेको विश्वविद्यालयले जनाएको छ । दिक्षीत हुने विदेशी विद्यार्थी मध्ये सबैभन्दा धेरै भारतका ४ हजार ६ सय ९६ छन् ।