आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन मानव अधिकार आयोगको आग्रह
-राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन आग्रह गरेको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न, नीतिगत व्यवस्था गरि आप्रवासनका समसामयिक र उदयमान समस्याहरुको न्यायोचित र कानुनी रुपमा सम्बोधन गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
त्यस्तै आप्रवासनलाई सुरक्षित ,मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षणको कार्य गर्न सरकार र सम्बन्धीत सरोकारवालाहरुलाई भनेको छ । देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी कामदारहरुको विप्रेषणको योगदान रहेपनि आप्रवासन व्यवस्थापनमा श्रमिक र तीनका परिवारले अनुभुति गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको आयोगको भनाइ छ ।
यसैबीच, सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार नारा सहित आज विश्व आप्रवासन दिवस मनाइएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम गरि मनाइयो । नेपालबाट गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७ लाख ४१ हजार ९७ जना रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार ती मध्ये महिलाको संख्या ८० हजार १ सय ७२ छ ।