निकुञ्ज राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापनका लागि अभियान सुरु
- नेपालगञ्जनेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्ज राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका लागि निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको रणबम गणले सचेतनामूलक कार्यक्रमको सुरुवात गरेका हुन् ।
सोही क्रममा कोहलपुर बसपार्कमा यातायात व्यवसायी, चालक, सहचालक लगायतसँग निकुञ्ज क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका बारेमा अभिमुखीकरण गराइएको छ ।
रणबम गणका गणपति प्रमुख सेनानी प्रविन थापाले निकुञ्जको राजमार्ग क्षेत्रमा हुने फोहोरमैला व्यवस्थापन चूनौतिपूर्ण बन्दै गएको बताउनुभयो । ‘आफू आएको केही समय राजमार्गको फोहोर व्यवस्थापनमै बित्यो । आफ्नो घर आँगन मात्रै सफा राख्ने तर, वनमा फोहोर जथाभावी फाल्ने बानीले समस्या निम्ताएको हो’ प्रमुख सेनानी थापाले भन्नुभयो, ‘अहिले निकुञ्जको राजमार्ग क्षेत्रका विभिन्न ठाउँमा फोहोर व्यवस्थापन गर्न डस्बिनको व्यवस्थापन गरिएको छ ।’
फोहोरमैला मात्र नभई सवारी दुर्घटनामा कम गर्न ओभरीदेखि खैरेनीसम्म टाइमकार्ड लागू गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जभित्र रहेका जीवजन्तु र पशुपन्छीको संरक्षण गरे पर्यापर्यटनबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो ।
‘सवारी साधन बिच सडकमा रोक्दा यात्रुले जथाभावी फोहोर फाल्ने र तीब्र गतिमा सवारी साधन चलाउँदा वन्यजन्तुको मृत्यु हुने गरेको छ,’ वरिष्ठ संरक्षण अधिकृत कँडेलले भन्नुभयो ।
निकुञ्ज राजमार्ग क्षेत्रको फोहोर व्यवस्थापन र सवारी साधनको गति नियन्त्रणका लागि गरिएको सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष वीरेन्द्रकुमार शाह, हरि कठायत, सुरक्षाकर्मी, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, विद्यार्थी युवा नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।