राष्ट्रिय

१० लाख ठगी दुई जना पक्राउ

- केएफएम डेस्क

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बाराको पचरौता नगरपालिका–८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया छन् । 

पक्राउ परेकामध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जनाबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरी परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि वैदेशिक रोजगार विभाग पठाइएको छ ।