नेपालका केही जिल्लामा धक्का
-कोशी प्रदेशका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, पाँचथर तथा बागमति प्रदेशका काठमाडौ उपत्यकासहित उत्तरतर्फ तिब्बतसँग सीमाना जोडिएका जिल्लाहरुमा ठूलो धक्का महसुस भएको थियो । कोशी प्रदेशका इलाम, झापा, सुनसरी, मोरङ तथा मधेस प्रदेशका जिल्लामा सामान्य धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका जिल्लामा क्षतिको विवरण संकलन भइरहेको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार भूकम्पबाट केही जिल्लामा सामान्य भौतिक क्षति भएकोे छ । भुकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा गरी दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ मा हर्कबहादुर खत्रीको कच्ची घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आङ्मा शेर्पाको कच्ची घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।
भूकम्प आउँदा काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर डेढ तले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको छ । बारामा भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । उनीहरूको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।