कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्न आदेश
-मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
धरौटी बुझाएसँगै अञ्जलालाई तारिखमा छोडिएको बुढाथोकीले बताउनुभयो । अदालतमा आज नै उपस्थित हुनुभएकी अञ्जलाको बयान लिएपछि सरकारी वकिल तथा प्रतिवादीका तर्फबाट बहस भएको थियो । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा हिनामिना गरिएको भन्दै अञ्जलासहितका २६ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका समेत रहेकी कोइराला सम्पर्कविहीन हुनुहुन्थ्यो । हालसम्म सो प्रकरणमा एक जना पुर्पक्षको लागि थुनामा छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेको प्रहरीले जनाएको छ ।