जसपा नेपाल समाजवादी मोर्चामा सहभागी नहुने
- काठमाडौंप्रतिपक्षी कित्तामा रहेको माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामा उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल सहभागी नहुने जनाएको छ ।
माओवादी र एकीकृत समाजवादीले जसपा नेपाललाई ल्याएर शक्तिशाली समाजवादी मोर्चा बनाउने तयारी गरिरहेका बेला सो पार्टीले भने सहभागी नहुने स्पष्ट पारेको छ ।
जसपा नेपालका प्रवक्ता मनिस सुमनले भन्नुभयो, “समाजबादी मोर्चा अवसरबादमा जेलिएको छ, केही नेताको स्वार्थका लागि एक हुने, स्वार्थ नमिलेपछि फेरी अलपत्र पारिने प्रवृत्तिलाई जसपा नेपालको साथ छैन ।”
यसअघी माओवादी केन्द्र र एकीकृत समाजवादीको हिजो बसेको बैठकले समाजवादी मोर्चाको गतिविधी बढाउने र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि सहभागी गराउने निर्णय गरेको थियो ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले समाजवादी मोर्चामा जसपा नेपालका अध्यक्ष यादवलाई पनि सहभागी गराएर सरकार बाहिर रहेका दलहरुको मोर्चा बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो । मोर्चामा रहेको नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा पनि निस्क्रिय जस्तै भएको छ ।
चक्रिय प्रणालीका आधारमा मोर्चाको नेतृत्व हाल नेत्रविक्रम चन्दले गरिरहनुभएको छ । तर, हिजोको बैठकमा उहाँ आफै सहभागी हुनुभएको थिएन । समाजवादी मोर्चामा अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व सम्हाल्ने तयारी गरेको मोर्चाका एक नेताले बताए ।