राष्ट्रिय

वीरगञ्ज महानगरको विनियोजन विधेयक सर्वसम्मतिले पारित

- शंकर आचार्यपर्सा

वीरगञ्ज महानगरपालिकाको विनियोजन विधेयक २०८१ सर्वसम्मतिले पारित भएको छ । शुक्रबार सम्पन्न नगरसभाको १६ औं अधिवेशनले विनियोजन विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको हो । 

अधिवेशनमा महानगर प्रमुख राजेशमान सिंहले स्वीकृत आयोजना तथा कार्यक्रम मध्ये केही सम्पन्न गर्न बजेट अपुग भएको भन्दै रकमान्तरण तथा संशोधन गर्न नगरसभामा प्रस्ताव पेश गर्नु भएको थियो । 

उहाँले बजेट कार्यान्वयनका लागि आर्थिक ऐन २०८१ संशोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक वर्ष ०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विधेयक अधिवेशनमा पेश गर्नु भएको हो । 

 साथै उहाँले विज्ञापन कर सम्बन्धी विधेयक २०८१, वीरगञ्ज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन प्रस्ताव र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गर्नुभयो । सिंहले पेश गर्नु भएको विधेयक तथा प्रस्तावहरु सर्वसम्मतिले पारित भएको थियो । 

नक्सा पास नगरी निर्माण भएका पुराना घरको अभिलेखिकरण यही चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पनि नगरसभाबाट पारित भएको छ । अधिवेशनमा महानगरका उपप्रम्खु इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, महानगरपालिकाका ३२ वडाका वडाअध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, महानगरका कर्मचारी लगायत सहभागी थिए । 

अधिवेशन समापनपछि महानगर प्रमुख सिंहले नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरी नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालू आर्थिक वर्षको संशोधित कार्यक्रम तयार पारिएको बताउनुभयो । 

उहाँले ‘वैभव वीरगञ्ज’ बनाउने अभियानमा वीरगञ्जका जनप्रतिनिधि एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप ऊर्जा प्राप्त भएको बताउनुभयो । सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगञ्ज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अघि बढेको उहाँको भनाई छ ।