राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जको कसरा पूर्व क्षेत्रमा ५५ प्रजातिका पानी चरा फेला

- रमेशकुमार पौडेलचितवन

जाडो छल्न हिउँदमा साइबेरियादेखि बसाइ सरेर आउने पानी चराको गणना सकिएसँगै चितवन राष्ट्रिय निकुञ्जको कसरा पूर्वको नतिजा सार्वजनिक भएको छ ।

सो क्षेत्रमा ५५ प्रजातिका पानी चरा फेला परेको गणनाको नेतृत्व गरेका कार्यक्रम संयोजक बासु बिडारीले बताउनुभयो । राप्ती नदीको लोथरदेखि कसरासम्म र कसरा पूर्व लोथरसम्मको निकुञ्जको सिमसार, ताल तलैया र माछापोखरीमा चरा गणना भएको थियो ।

अघिल्लो वर्ष सो क्षेत्रमा ५३ प्रजातिका पानी चराहरु भेटिएका थिए । गत वर्ष नदेखिएको कालो टाउके गंगा चिल र राजा गंगा चील यो पटक देखिएको बिडारीले बताउनुभयो । बर्ड एजुशेन सोसाइटी र नेपाल पंक्षीविद् संघका स्वयमसेवकहरु चरा गणनामा सहभागी भएको उहाँको भनाई छ ।

उहाँका अनुसार प्रजातिको हिसाबले बसाइ सरेर आउने चराहरुको अवस्था केही सन्तोषजनक देखिएको छ । सन् २०२३ को गणनामा सो क्षेत्रमा ४९ प्रजातिका चरा भेटिएका थिए भने त्योभन्दा अघि ५४ प्रजातिका चराहरु भेटिएको तथ्याङ्क छ ।