वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
- काठमाडौंचर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला निवासी शेर्पा कलेजो सम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडा अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो । उहाँका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा समेत संलग्न शेर्पा कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत हुनुहुन्थ्यो ।
पर्यटन व्यवसायमा आबद्ध शेर्पा चौँरीखर्कका पूर्व गाविस अध्यक्ष समेत हुनुहुन्थ्यो । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग पनि आबद्ध हुनुहुन्थ्यो ।
बाघ, चितुवा, हिउँ चितुवा, वाईल्ड याक र रेडपाण्डा लगायत वन्तजन्तुका मनमोहक र रोमाञ्चक तस्बिर खिचेका कारण पछिल्लो समय वाईल्डलाईफ फोटोग्राफीमा शेर्पाको नाम उज्यालिँदै गएको थियो । विगत ६ वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पाले तराईदेखि हिमालसम्म पुगेर फोटोग्राफी गर्नु भएको थियो ।