राष्ट्रिय

गोबरगाढा टापुमा मन्त्रीसहित प्रदेशका सुरक्षा प्रमुखको भ्रमण

- अवधेशकुमार झाराजविराज

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा टापु बस्तीको सुरक्षा अवस्थाबारे अनुगमन गर्न मधेश प्रदेश सरकारका मन्त्री र सुरक्षाप्रमुखहरु सो क्षेत्रमा पुगेका छन् । चारैतिरवाट कोसी नदीले घेरिएको गोबरगाढा टापुबाट पछिल्लो केही समययता तस्करी बढेको आशङ्कामा प्रशासनले अनुगमन स्वरुप सो क्षेत्रको भ्रमण गरेको हो ।

 मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी, वन तथा पर्यटनमन्त्री सकिल अलि, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआईजी लालमणी आचार्य, सशस्त्र प्रहरीका डिआईजी कालीदास धबोजी लगायतका अधिकारीहरु गोबरगाढा पुगेका हुन् । यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल समेत अनुगमनका लागि गोबरगाढा टापु पुगेका थिए ।

 हनुमाननगर कंकालिनी नगरपालिका भित्रको महत्वपूर्ण वडा भएपनि लामो समयपछि उच्च स्तरको भ्रमण भएको हो । सुरक्षाको हिसाबले संबेदनशिल रहेको गोबरगाढा बस्तीमा पहिले रहेकोे प्रहरी चौकी पुर्नःस्थापीत गर्न जिल्ला सुरक्षा समितीका अधिकारीहरुसँग छलफल गरिने नेपाल प्रहरीका डिआईजी लालमणी आचार्यले बताउनुभयो ।

 हनुमाननगरस्थित इलाका प्रहरी कार्यालयवाट सो क्षेत्रमा नियमित गस्ती गर्ने व्यवस्था मिलाउन आफूले निर्देशन दिएको आचार्यको भनाई छ । कोसीको टापु गोबरगाढाबाट दैनिक मदिरा लगायतका बस्तु ठुलो परिमाणमा तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।