राष्ट्रिय

रुरु क्षेत्र कालीगण्डकी नदी किनारमा मकर मेला

- माधव अर्यालपाल्पा

पाल्पा, गुल्मी र स्याङ्जाको संगम रुरु क्षेत्र रिडीमा लाग्ने माघे संक्रान्ति धार्मिक मेला भर्न मंगलबार बिहानैदेखि श्रद्धालु भक्तजन पुगेका छन् । नेपालको चार धाममध्ये एक रुरु क्षेत्र रिडी धाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गर्छ । 

मेलाका लागि पाल्पा, गुल्मी र स्याङ्जातर्फ स्टलहरु तयार पारिएको छ । कालीगण्डकी नदीमा नुहाउने र पाल्पाको तानसेन नगरपालिका १४ अर्गलीमा रहेको ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने प्रचलन रहेको छ । ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईका अनुसार तीनवटै जिल्लाले आ–आफ्नो ढंगले मेला लगाउने तयारी गरेका छन् । 

पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन कृतन, पूजापाठ, भण्डारा, दान पुन्यजस्ता कार्यक्रम हुने भट्टराईले बताउनुभयो । पाल्पा, गुल्मी, स्याङ्जा बाहेक अर्घाखाँची, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायत जिल्लाबाट रुरु रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्न आउने गर्छन् । 

भक्तजनहरुले कालीगण्डकीमा नुहाएपछि पाल्पातर्फको ऋषिकेश मन्दिरमा पूजा गर्ने परम्परा रहेको अध्यक्ष तानसेन नगरपालिका–१४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताउनुभयो । उहाँका अनुसार माघे संक्रान्ति मेला भर्न पुगेका श्रद्धालुलाई खिचडी खुवाउने कार्यक्रम समेत राखिएको छ । 

गुल्मीतर्फ उद्योग वाणिज्य संघ र रुरु फ्रेन्डस् क्लब लगायतका संघ संस्थाले ६ दिने बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको जनाएका छन् । रुरु क्षेत्र रिडीमा आउने भक्तजनलाई मनोरन्जन प्रदान गर्नेगरी हरेक वर्ष मेलाको आयोजना गर्दे आएको रुरु फ्रेन्डस क्लबले जनाएको छ । स्याङ्जातर्फ वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । 

रुरु क्षेत्रमा सेनवंशीय राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेशवको साक्षात् मूर्ति फेला पारेको र सोही मूर्तिलाई प्रतिस्थापन गरेको किवंदन्ती छ । त्यसैले यहाँ आउने भक्तजनले कालीगण्डकी नदीमा स्नान गरेपछि भगवान ऋषिकेशको दर्शन गर्ने र दानपुन्य कार्यमा सहभागी हुने गर्छन् । 

रुरु क्षेत्रमा मेला भर्न जानेहरुले घरमै उत्पादन गरेका वस्तुको खरिद बिक्री गर्ने गर्छन् । रुकुम पूर्वबाट भेडाको ऊनबाट बनेका काम्ला, ढाका, राडी, पाखी, आस्कोट, सुइटर समेत बिक्रीका लागि ल्याएका छन् । मेलामा फलफूल, तरकारी, चोयाबाट बनेका सामग्री, फलामका सामग्री, ओखर, टिमुर, गुँड, खाद्य वस्तु बिक्रीका लागि ल्याएको स्थानीय चुरामणी तिमिल्सेनाले बताए ।