राष्ट्रिय

मधेशका मुद्धा सशक्त ढंगले अघि बढाउने सहमति

- केएफएम डेस्क

मधेश केन्द्रित राजनीतिक दलहरुले कार्यगत एकताको पहल सुरु गरेका छन् । सोही पहल अनुरुप आज बसेको मधेश केन्द्रित दलहरुको बैठकले मधेशका मुद्धा सशक्त ढंगले अघि बढाउने सहमति गरेका छन् । संयुक्त मोर्चा गठन गर्ने प्रयास स्वरुप दलहरुले कार्यगत एकताका लागि मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेण्डामा छलफल गरेको राष्ट्रिय मुक्ति मोर्चाका नेता एवं कार्यदलका सदस्य केशव झाले बताउनुभयो । बैठकमा सहभागि जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले मोर्चालाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो ।

मधेश केन्द्रित दलले यो पहललाई निरन्तरता दिने र आगामी बैठकमा दलहरुले साझा धारणा सहित उपस्थित हुने तयारी गरेको राष्ट्रिय मुक्ति मोर्चाका नेता एवं कार्यदलका सदस्य झाले बताउनुभयो । सरकारले संविधान संसोधन र थ्रेसहोल्डको प्रतिशत बढाउने गृहकार्य अघि बढाएपछि मधेश केन्द्रित दलहरुले पनि कार्यगत एकतामा जोड दिएका हुन् । पटक–पटकको पार्टी विभाजनका मार खेप्दै आएका दलहरुले विचार तथा मुद्दा मिल्ने दलहरुबीच मिलन बिन्दुको प्रयास अघि बढाएका हुन् ।