राष्ट्रिय

माघे संक्रान्ति विभिन्न कार्यक्रम गरी मनाइयो

- केएफएम डेस्क

माघे संक्रान्ति पर्व मुलुकभर आज मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटो हुँदै जाने विश्वास समेत रहि आएको छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैबीच, थारू समुदायले आज माघी पर्व धुमधामका साथ मनाएका छन् । काठमाण्डौं र आसपास बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहिते झाँकी टुँडिखेल पुगेको थियो ।

थारू समुदायले हिजोे र आज काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका हुन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा थारू खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू राखिएको छ । काठमाडौंमा थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् ।

यसैबीच काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले पनि विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरूलाई पानी चढाउने डि डाँके पर्वका रूपमा पनि मनाएका छन् ।