समयमा राजमार्ग निर्माण नभएको विरोधमा मिर्चैयामा प्रदर्शन
- सिराहसिरहाको मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग नबन्दा सास्ती खेप्दै आएका स्थानीय पुनः विरोध प्रदर्शनमा उत्रिएका छन् ।
राजमार्ग निर्माणका लागि सरकारी पक्षले पटकपटक वार्ता तथा सहमति गरेपनि कार्यान्वयनमा चासो नदिएपछि फेरि प्रदर्शनमा उत्रिनुपरेको स्थानीयको भनाई छ । मिर्चैयास्थित कटारी चोकमा भेला भएका उनीहरुले आज राजमार्गमा १ घण्टा चक्काजाम समेत गरेका छन् ।
राजमार्ग निर्माणको काम अघि नबढेसम्म निरन्तर चक्काजाम गर्ने स्थानीयको अडान छ । लामो समयसम्म पनि राजमार्ग नबन्दा मिर्चैया क्षेत्रको व्यापार व्यवसाय प्रभावित भएको तथा धुवाँधुलोले स्वास्थ्यमा समेत विभिन्न असर परेको प्रदर्शनकारीको भनाई छ । सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८६ दशमलव ८२ किलोमिटर चार लेनको राजमार्ग निर्माणको काम २०७७ सालदेखि नै भइरहेको छ ।
निमार्ण कम्पनीले सुस्त गतिमा काम गरेपछि स्थानीय पटक पटक विरोधमा उत्रिसकेका छन् तर २०८० कात्तिक ११ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि हालसम्म ५५ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीलाई २०८२ पुस १६ सम्मको म्याद थप गरिएको छ ।