राष्ट्रिय

विभिन्न कार्यक्रम गरि मनाइयो २७ औं भूकम्प दिवस

- केएफएम डेस्ककाठमाडौं

भूकम्प दिवस विभिन्न कार्यक्रम गरी आज मनाइएको छ । विसं १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पलाई नेपालको इतिसमा सबैभन्दा विनाशकारी रुपमा लिने गरिन्छ । संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर ८ दशमलव ४ म्याग्नीच्युडको भूकम्प जाँदा तत्कालीन समयमा ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो ।

२०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो । यस्तै, २२ हजार ३ सय ९ जना घाइते भएका थिए । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प जस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिनुभएको छ ।

२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज कीर्तिपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनःनिर्माण भएका एकीकृत बस्तीहरुमा तुलनात्मक रुपमा सुरक्षाको स्थिति बलियो रहेको समेत बताउनुभयो ।