राष्ट्रिय

अब विद्युतीय बसमा लुम्बिनीको यात्रा

- सन्जु पौडेलतिलोत्तमा

लुम्बिनी विकास कोषले लुम्बिनीमा रहेका विद्युतीय बसलाई देवदहदेखि लुम्बिनीसम्म सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि लुम्बिनीमा सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुको सेवालाई ध्यानमा राखेर सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो । 

देवदह शितलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार हप्ताको ३ दिन देवदह र ३ दिन बुद्धको अस्तीधातु रहेको रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको छ । 

पुरातात्विक धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक संगठन र संस्थासँग मिलेर कोषको नीति स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहारमा उतार्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्म यात्रा लेखेर परीक्षण स्वरुप सञ्चालन गरिएको हो ।