लामिछानेलाई धरौटीमा छाड्ने आदेशको ‘कैफियतप्रतिवेदन’
-पूर्व गृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशका सम्बन्धमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले कास्की जिल्ला अदालतको नाममा सो आदेश जारी गरेको हो । जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय पोखराले निवेदन दर्ता गर्दै ७ जनालाई थुनामै राखेर मुद्दा चलाउन माग गरेको थियो ।
सो निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण खोज्दै कास्की अदालतबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उप–रजिस्ट्रार एवं सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयो । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशक रबी लामिछाने भोलि जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने बताइएको छ । इलाका प्रहरी कार्यालय बुटवलको पुरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जनबढी तथ्य र प्रमाणसहित रबी लामिछाने, छविलाल जोशीसहित २२ जना बिरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पुरक मुद्धा दायर गरेको थियो ।