डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाउन निर्देशन
-प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सुख्खा मौसममा सामुदायिक जंगलहरुमा डढेलोको प्रकोप नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सरकारलाई निर्देशन दिएको हो ।
समिति सभापति कुसुमदेवी थापाले डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । यसैबीच, समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने बिषयमा आगामी बैशाखदेखि काठमाडौं उपत्यकाबाट शुरु गर्ने गरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।