सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न नदिने निर्णयप्रति उड्डयनमन्त्री पाण्डेको आपत्ति
-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न नदिने निर्णयप्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रिय निकुञ्ज, र स्थानीय तहले सगरमाथा क्षेत्रमा हेलिकप्टर उड्न नदिने निर्णय गरेपछि विवाद चर्किएका बेला मन्त्री पाण्डेले सो कार्य संविधान र कानून विपरित भएको टिप्पणी समेत गर्नुभएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नीतिगत हिसावमा समेत हेलिकप्टर उडान रोक्न नमिल्ने बताउनुभयो ।
पाण्डेले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई कमजोर बनाउने काम गर्न नहुने बताउनुभयो । समस्या समाधानका लागि पहल भइरहेको उहाँको भनाइ थियो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जले निर्णय गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाएपछि विवाद सृजना भएको हो । त्यसपछि निजी वायुसेना कम्पनीले समेत हेलिकप्टर उडानमा लगाइएको रोकप्रति आपत्ति जनाएका छन् । सोलुखुम्बु प्रशासनले भने हेलिकप्टर उडानमा अवरोध गर्नेलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ ।