छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सिरहा प्रशासनलाई निर्देशन
- सिरहाकारागार व्यवस्थापन विभागले सिरहा कारागार घटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागले जिल्ला प्रशासन कार्यालय सिरहालाई यस्तो निर्देशन दिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई प्रतिवेदन कार्यान्वयन गर्न र विभागलाई पनि पठाउन बुधबार भनिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘मैले बुधबार फोन गरेर प्रतिवेदन कार्यान्वयन गर्न र हामीलाई पनि पठाउन भनेको छु,’ भट्टराईले भन्नुभयो, ‘अब चाँडै यो कार्यान्वयनमा जान्छ, हामी ढिला गर्दैनौं, विश्वास गर्नुस् ।’
यस्तै, भट्टराईले प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक नहुने र यसको मुख्य विषय मात्रै सार्वजनिक गरिने बताउनुभयो । ‘कारागारभित्रको सबै कुरा सार्वजनिक गर्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘मुख्य कुरा हामी तपाईंहरुलाई दिन्छौं ।’
सिरहा कारागार घटनाको छानबिनका लागि गठित नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपी नेतृत्वको समितिले एक महिनाअघि नै प्रतिवेदन बुझाएको थियो ।
सिरहा कारागारभित्र प्रहरी प्रशासनकै मिलेमतोमा अवैध गतिविधि हुने गरेको विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले आनाकानी गर्दै आएको थियो ।
जेलभित्र हुने अवैध क्रियाकलापबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि कारागार व्यवस्थापन विभागको निर्देशनमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिले कात्तिक २५ गते घटनाको छानबिनका लागि छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन प्रतिवेदन पनि बुझाइसकेको छ ।
नेपाल प्रहरीका डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र कारागार कार्यालयका प्रतिनिधिसमेत रहने गरी गठित पाँच सदस्यीय छानबिन समितिलाई १५ दिनको मात्रै म्याद दिइए पनि समितिले डेढ महिना लगाएर गत पुस ४ मा ९० पेजको प्रतिवेदन बुझाएको थियो । तर, सिरहा प्रशासन नै घटनाको ढाकछोपमा लागेको भन्ने कान्तिपुरको समाचारपछि छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको हो ।