लेखा समिति सभापति पोखरेलका पूर्वस्वकीय अनिलकुमार ५ लाख धरौटीमा रिहा
- काठमाडौं
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ५ लाख धरौटी बुझाएर रिहा हुनु भएको छ ।
जिल्ला अदालत मोरङले ५ लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएपछि पोखरेल नगद बुझाएर रिहा हुनु भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
न्यायाधीश चित्र बहादुर गुरुङको इजलासले पोखरेललाई धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले पोखरेल विरुद्ध हिजो बुधबार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गर्दै मुद्धा दर्ता गरेको थियो ।
एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीबाट पोखरेलले २०७१ देखि २०७३ सम्म पटकपटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको अभियोग छ ।