राष्ट्रिय

वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति

- केएफएम डेस्ककाठमाडौं

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको आदेश गर्ने न्यायाधीश सम्बन्धमा वदनियतपूर्वक कार्य गरेको भनी विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति प्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ ।

समाजले आज विज्ञप्ती जारी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले आफुले बहस गरे बमोजिम परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरित हुने गरी आदेश गर्ने न्यायाधीशमाथि नै बदनियतपूर्वक कार्य गरेको भनि दिएको अभिव्यक्तिप्रति समाजले आपत्ति जनाएको हो ।



वरिष्ठ अधिवक्ता त्रिपाठीले पूर्व गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा न्यायाधीशले धरौटीमा छाड्न आदेश दिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । साथै, समाजले सर्वसाधरणमा न्यायपालिका प्रति भ्रम र अनास्था फैलाउने गरि त्रिपाठीले अन्तवार्ता दिएको पाइएकोले सो सम्बन्धमा समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीको सो अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति अनास्था पैदा हुन जाने हुँदा सो प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्ने समाजले उल्लेख गरेको छ । साथै,समाजले गत माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको सहकारी ठगी गरी संगठित अपराध गरेको मुद्दामा थुनछेक बहस पश्चात अदालत परिसर बाहिर वरिष्ठ अधिवक्त त्रिपाठी माथि भएको आक्रमणमा संलग्न रहेका व्यक्तिालई आवश्यक कानूनी कारबाही गर्न समेत माग गरेको छ ।