राष्ट्रिय

अछाम घटनाः दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता

- केएफएम डेस्ककाठमाडौं

अछामको ढकारी गाउँपालिकाका–८ का दुई किशोरीको शंकास्पद मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । दुईमध्ये एक जना किशोरीसँग भएको नियमित सम्पर्कलाई मुख्य आधार बनाएर ढकारीकै दुई किशोरविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो । 

घटना अनुसन्धानका लागि प्रहरीले आइतबार राति दुई जना र सोमबार दिउँसो ११ वर्षीय बालकसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये दुई जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 गत शुक्रबार ढकारी–८ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । डीएसपी भण्डारीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम जारी रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार घटनाको थप अनुसन्धानका लागि काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली भोलि बिहीबार अछाम जाने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द लगायतको विशेषज्ञ टोली पनि हिजो साँझ अछाम पुगेको छ ।