अध्यादेशबाट सरकार चलाउन खोज्नेविरुद्ध प्रतिपक्षी एकजुट : उपमहासचिव पुन
- पाल्पानेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यादेश मार्फत् सरकार चलाउन खोज्ने सत्तापक्षका विरुद्धमा प्रतिपक्षी दल एकजुट हुने बताउनु भएको छ ।
प्रेस सेन्टर पाल्पाले तानसेनमा बिहीबार आयोजना गरेको पत्रकार भेटमा उपमहासचिव पुनले अध्यादेश मार्फत् शासन चलाउन खोज्नु गलत भएको टिप्पणी गर्नु भएको हो ।
अध्यादेश मार्फत् सरकार संचालन गर्न खोजेको आक्षेपसहित संसदको गरिमा र सरकारमाथि नै प्रश्न उठेको उहाँले बताउनुभयो । संसद छलेर अध्यादेशबाट शासन चलाउन खोज्नेहरुलाई प्रतिपक्षी एकजुट भएको समेत नेता पुनले बताउनुभयो । ‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो, ‘एक सदन र अर्को सदनको बीचमा अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भएपनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’
सैद्धान्तिक रुपमा अध्यादेश मार्फत् शासन चलाउने कुरा कुनै पनि हिसाबले स्वीकार्य नहुने उहाँको भनाई छ । विनाकारण संसद छलेर अध्यादेश ल्याउन खोज्नुको अभ्यासप्रति उहाँले प्रश्न गर्नुभयो ।
संसदले कानून बनाउनपर्नेमा अवहेलना गर्दै अध्यादेश जारी गर्नु भनेको सरकारले स्वेच्छाचारी ढंगले शासन गर्न खोजेको पुनले जिकिर गर्नुभयो । संसद र प्रमुख प्रतिपक्षीले जनताको लोकतान्त्रिक अधिकारको संरक्षण गर्ने जिम्मेवारी भएकाले सोही अनुसार नै संसदमा जोडदार कुरा राख्ने उहाँको भनाई छ ।