प्रहरीको गोली लागेर लागूऔषध कारोबारी घाईते
- पश्चिम नवलपरासीपश्चिम नवलपरासीको रामग्राममा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । रामग्राम नगरपालिका–१२ पचगावामा छापा मार्ने क्रममा प्रहरीको गोली लागेर ५२ वर्षीय राजेश लोनिया घाइते भएका छन् ।
लोनियाको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा भैरहवास्थित लागूऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको टोलीले ब्राउन सुगरसहित नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीको दाबी छ ।
प्रहरीमाथि आक्रमण गर्न आएको र पेस्तोल खोस्न लागेपछि ४ राउण्ड गोली प्रहार गर्दा लोनिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेसम बोहोराले जानकारी दिनुभयो ।
उनको बायाँ खुट्टामा एक राउन्ड गोली लागेको छ । घाइते लोनियाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छापा मार्ने क्रममा प्रहरीले लोनियाको घरबाट ९३ पुरिया ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका लोनिया यसअघि २०७८ मा लागूऔषध कारोबारमा संलग्न रहेको पुष्टि भएपछि सजाय भोगेका व्यक्ति हुन् ।