महिला टी–२० क्रिकेट सिरिजमा नेपालको लगातार दोस्रो हार
- काठमाडौंत्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डसँग ४ विकेटले पराजित भएसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो ।
नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ औं ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्याण्डको जितमा नन्नापट कोन्च एरेन्काईले नटआउट रहँदै ६० रनको अर्धसतकीय इनिङ्स खेलिन् । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो । नेपालका लागि कविता कुँवर र विन्दु रावलले समान २५–२५ रन बनाए भने इन्दु बर्माले १५ रन बनाइन् ।
जितसँगै थाइल्याण्ड अपराजित रहँदै ४ अङ्क सहित शीषस्थानमा छ । यस अघि हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८विकेटले पराजित गरेको थियो । आजको खेलमा पराजित नेपाल भने विहिबार भएको उद्घाटन खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
नेपाललाई हराएको थाइल्यान्ड आईसीसी महिला टी–२० आई वरीयताको १३ औं र नेदरल्यान्ड्स १६ औं स्थानमा छन् । विश्व वरीयतामा नेपाल २० औं स्थानमा छ । त्रिकोणात्मक महिला टी–२० सिरिजमा सहभागी टोलीले एक अर्कासँग तीन पटक खेल्नेछन् । सिरिजको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।