राष्ट्रिय

देउराली माविका तत्कालीन प्रधानाध्यापकसहित ९ जना विरुद्ध भ्रष्टाचार आरोप

- केएफएम डेस्ककाठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालिगण्डकी गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

माध्यमिक तहको अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम कार्यन्वयनका क्रममा रिक्त शिक्षक पदको नियुक्तिका लागि प्राप्त रकम नियम विपरित प्रयोग गरेको पाइएपछि अख्तियारले भ्रष्टाचार आरोप दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयमा उपस्थित नभएका शिक्षकको नाममा पारिश्रमिक निकासा गराई फर्जी भरपाई बनाएर उनीहरुले आर्थिक लाभ लिएको पाइएको छ । तत्कालीन प्रधानाध्यापक मित्रलाल पाण्डे, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेद्रप्रसाद सापकोटा, विद्यालयका कर्मचारी प्रेम नारायण पाण्डेसहित समितिका अन्य सदस्यहरुलाई समेत प्रतिवादी कायम गर्दै अख्तियारले ८ लाख ८७ हजार ८ सय ८० रुपैयाँ बिगो माग दाबी सहित विशेष अदालतमा भ्रष्टाचार आरोप दायर गरेको हो ।