राष्ट्रिय

पाठेघरको क्यान्सर विरुद्धको खोप अभियानमा साझा प्रयास आवश्यकः प्रधानमन्त्री ओली

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुुभएको छ । काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान शुुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले आम नागरिकको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउनुुभयो । उहाँले नागरिकलाई सहज र गुणस्तरीय रुपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले प्रयास गरिरहेको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्वच्छ र सन्तुुलित खाना खाएर स्वस्थ्य रहन सबैमा आग्रह गर्नुभयो । उहाँले निःशुल्क एचपिभी खोप लगाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरु वञ्चित हुन नहुने बताउनुभयो । सन् २०३० सम्म यो अभियान पूर्ण रुपमा सफल पार्ने उहाँको भनाई थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियान प्रभावकारी बनाउन २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछन् । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षक संलग्न हुने महाशाखाले जनाएको छ । यसैबीच, पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप लगाई सुरक्षित रहन राष्ट्रपति रामचन्द्र पौडेलले सबै किशोरीहरुलाई आग्रह गर्नुभएको छ ।