जनमत पार्टीका अध्यक्ष राउतद्वारा गैरसरकारी विधेयक संसदमा दर्ता
-जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव रोक्न छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले गैरसरकारी विधेयक संसदमा दर्ता गर्नुभएको छ । जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसूर र सजायको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक उहाँले दर्ता गर्नुभएको हो ।
कुनै पनि किसिमको भेदभाव बिना उपभोग गर्न पाउने अधिकार भएको घोषणा गर्ने तथा यस्ता प्रकृतिका सबै व्यबहारलाई रोक लगाउने, निषेध गर्ने तथा उन्मूलन गरी त्यस्ता व्यवहारलाई दण्डनीय बनाउनुपर्ने बिषय विधेयकमा उल्लेख छ । त्यस्ता कसूर गर्ने व्यक्तिलाई तीनबर्ष देखि पाँच वर्षसम्म कैद सजाय र तीस हजार रुपैया देखि पचास हजार रुपैयासम्म जरिबाना गर्नुपर्ने लगायत प्रावधान प्रस्तावित विधेयकमा राखिएको छ ।
सांसद आफैले पनि निजी अर्थात् गैरसरकारी विधेयक ल्याउन पाउने व्यवस्था अनुसार जनमत पार्टीका अध्यक्ष राउतले समेत नयाँ विधेयक ल्याउनुभएको हो ।