रास्वपा सभापति लामिछाने प्रहरीको जिम्मामा
-साहारा चितवन सहकारी संस्थाको बचत रकम ठगी मुद्धामा पूर्व मन्त्री रवि लामिछानेलाई आजको बहसपछि प्रहरीको जिम्मा लगाइएको छ । आज बहस नसकिएको हुँदा भोलि बिहान १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाइएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताउनुभयो ।
साहारा चितवनसहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा आज उहाँको बयान सकिएर थुनछेक बहस सुरू भएको हो । मुद्दामा वादीका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको छ ।
त्यसैगरी जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि आजको बहस पूरा भयो । जाहेरवालाका तर्फबाट एकजना वरिष्ठ अधिवक्तासहित चारजनाले बहस गर्दैछन् । प्रतिवादी लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्ने भएका छन् । बाँकी कानुन व्यवसायीहरूको बहस भोलिबाट फेरि शुरु हुने भएको छ ।