कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
- काठमाडौंनियमित गस्तीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।
ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो ।
पक्राउ परेका दुबै जना एमालेको भ्रातृ संगठन अनेरास्ववियूका नेता हुन् । उनीहरुले यही माघ २४ गते काठमाडौँ महानगरपालिका–२६ ठमेलमा गस्तीमा खटिएका प्रहरीमाथि हातपात गरेका थिए ।
उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकल समेत तोडफोड गरेका थिए । पक्राउ परेका दुवैलाई अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ ।