‘कञ्चनजंघा प्याटिनम जुब्ली’को लोगो र नारा सार्वजनिक
- ताप्लेजुङकञ्चनजंघा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा मनाउन लागिएको ‘कञ्चनजंघा प्याटिनम जुब्ली’ को लोगो र नारा सार्वजनिक गरिएको छ । महोत्सव आयोजक समितिले सोमबार सदरमुकाम फुङलिङमा लोगो सार्वजनिक गरेको हो ।
आगामी २०८२ बैशाख ५ देखि ७ गतेसम्म फक्ताङलुङ गाउँपालिका–५ लेलेपमा महोत्सव आयोजना हुने भएको छ । लेलेप कञ्चनजंघा संरक्षण क्षेत्रको मुख्यालय रहेको स्थान हो । महोत्सवको नारा ‘कञ्चनजंघा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार’ रहेको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राई, परिषद्का कोषाध्यक्ष छोवाङ शेर्पाले लोगो र नारा सार्वजनिक गर्नुभयो । व्यवस्थापन परिषद्को संयोजनमा समृद्ध पहाड परियोजना, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय सहितको सहभागितामा महोत्सव हुन लागेको हो ।
महोत्सवका लागि कोशी प्रदेश सरकारसँग पनि समन्वय भइरहेको सदस्य सचिव राईले बताउनुभयो । यसले कञ्चनजंघा क्षेत्रहरूका पर्यटकीय स्थलको प्रचार–प्रसार, पदयात्रामा सहयोग पुर्याउने विश्वास आयोजकको छ ।
स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रवर्धन, खाद्य परिकार महोत्सवका मुख्य आकर्षको रुपमा रहने भएका छन् । महोत्सवमा कञ्चनजंघा हिमालको आरोहण गरेका व्यक्ति र उनीहरु जीवित नभएको अवस्थामा आरोहणकर्ताका परिवारलाई आमन्त्रण गर्ने योजना आयोजकको छ ।
महोत्सवमा आरोहण गरेका व्यक्तिका अनुभव आदान–प्रदान लगायतको कार्यक्रम राखिएको परिषद्ले जनाएको छ । नेपालको दोस्रो र विश्वको तेश्रो अग्लो शिखर कञ्चनजंघा ८,५८६ मिटर रहेको छ । कञ्चनजंघा पहिलो पटक सन् १९५५ मे २५ कादिन बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले आरोहण गरेका थिए ।