राष्ट्रिय

जापान पठाईदिने भन्दै १ करोड रुपैयाँ ठगी गर्ने युवती पक्राउ

- रुपा गहतराजनेपालगञ्ज

कामदार भिसामा जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बाँकेबाट एक युवती पक्राउ परेकी छन् । रोजगारीमा जापान पठाईदिने भन्दै रकम असुलेको आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रतिव्यक्ति १५ लाख रुपैयँ ठगी गरेको आरोपमा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) आयुशप्रसाद जोशीले बताउनुभयो । 

जापान पठाइदिने भन्दै मगरले कुल १ करोड २३ लाख रुपैयाँ संकलन गरेको भेटिएको डीएसपी जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार सो रकम संकलन गरेर उनी २÷३ महिनादेखि फरार थिइन् । 

उनी विरुद्धमा पीडितहरुले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका थिए । लगत्तै मगरविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको थियो । 

उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । मगरविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।