कम्दी करिडोरमा बाघ तथा आहार प्रजातिको अनुगमन सुरु
- नेपालगञ्जबाँकेमा वन्यजन्तुको आतंक बढेसँगै कम्दी जैविक मार्गमा उनीहरुको विचरणबारे अनुगमन थालिएको छ । पछिल्लो समय विभिन्न संरक्षित क्षेत्र तथा वनजंगल नजिकका बस्तीमा बाघले मानिसमाथि आक्रमण गरेको घटना बढेपछि जिल्लास्थित डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जले अनुगमन सुरु गरेको हो ।
डिभिजन वन कार्यालय र निकुञ्जको सहजीकरण तथा जेड–एस–एलको प्राविधिक सहयोगमा राप्ती सोनारी गाउँपालिका–३ बैसास्थित कम्दी जैविक मार्गमा अनुगमन गरिएको वरिष्ठ वन डिभिजनल अधिकृत शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा विशेष गरी त्यो ठाउँमा बाघको संख्या, घनत्व लगायत बारे अध्ययन गरिनेछ ।
बाघ मात्र नभई आहारा प्रजातिका बारेमा पनि अध्ययन गरिने उहाँले जानकारी दिनुभयो । बाघ ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामेरा राखेर तस्बिर संकलन गरिने भन्दै त्यसका लागि निश्चित ग्रिड बनाएर त्यसभित्र पनि बढी आउजाउ गर्ने स्थान पत्ता लगाएर क्यामेरा राखिने उहाँले बताउनुभयो ।
जेड–एस–एलका कार्यक्रम अधिकृत संजय कँडेलका अनुसार क्यामेरा ट्रयापिङले त्यो क्षेत्रमा बाघले बिचरण गरेको छ वा छैन भन्ने पत्ता लाग्नेछ । बाघको संख्या निर्धारण गर्ने एउटा प्रमुख तत्व आहारा प्रजाति भएकोले अनुगमनमा आहारा पनि समावेश गरिएको उहाँको भनाई छ ।
अहिले बाघ तथा आहारा प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करीब ३५ हजार हेक्टर क्षेत्रफलमा ९५ वटा ग्रेडमा स्वचालित क्यामेरा जडान गरिएका छन् । ती क्यामेरा जडान गरिएको मितिदेखि १५ दिनसम्म राखिने कँडेलले बताउनुभयो ।