लुम्बिनी र गण्डकी प्रदेशबीच २१ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर
- पाल्पालुम्बिनी र गण्डकी प्रदेशले रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिवद्धता जनाएका छन् । कालीगण्डकी नदी किनारस्थित रानीमहलमा बसेको अन्तर प्रदेश समन्वय बैठकले पर्यटन र भौतिक पूर्वाधारलाई जोड दिँदै सो प्रतिबद्धता जारी गरेको हो ।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय तथा दुवै प्रदेशका मन्त्री, मुख्य सचिव र सचिव लगायत सहभागी भएका थिए । दुई प्रदेशबीच हवाइसेवा विस्तार, लुम्बिनीदेखि मुक्तिनाथ हुुँदै लोमान्थाङ्, कालीगण्डकी करिडोर, दुम्किबासदेखि ज्यामिरे निस्दी लगायत विभिन्न सडक स्तरोन्नती तथा विस्तार गर्ने योजना कार्यान्वयन गर्नेसहितका बिषयमा सहमति जनाएका छन् ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीका अनुसार सिद्धार्थ राजमार्गको पोखरादेखि बुटवल सडक खण्डलाई डेडिकेटेड दुई लेनमा बिस्तार गर्न संघीय सरकारलाई संयुक्त अनुरोध गर्ने, चितवनको भरतपुरदेखि बुटवल र पोखरालाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्ने एवम् प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने विषयमा पनि सहमति भएको छ ।
त्यस्तै, सम्भावित ठूला आयोजनाको पहिचान गर्नुका साथै बहुउद्देश्यीय प्रकृतिका बृहत जलश्रोत आयोजना आपसी समझदारीमा अघि बढाउने बिषय २१ बुँदे साझा प्रतिवद्धतामा समेटिएका छन् ।