राष्ट्रिय

खेतमा छर्नुअघि मकैको बिहे !

- हरिराम उप्रेतीगोरखा

मकै छर्नु पूर्व यस वर्ष पनि गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा ‘मकैको बिहे’ गरिएको छ । शुक्रबार गाउँले भेला भएर मकैको बिहे गरेका हुन् । लाप्राकमा मकैको बिहे नगरी मकै छर्न नहुने प्रचलन रहँदै आएको छ । 

लाप्राकमा मकैको बिहेको तयारी बिहीबार साँझबाटै सुरु भएको थियो । साइत अनुसार बिहीबार साँझ जमिन मुनी मकैको घोगा गाडेर शुत्रबार बिहान निकालेपछि मकैको बिहे सुरु भएको लाप्राकका स्थानीय विस बहादुर गुरुङले बताए । ‘मकैको घोगा गाडेपछि वारना सुरु हुन्छ, गाउँ भरी ढिकी झाँतो, नचलाउने परम्परा छ,’ उनले भने । 

बाजागाजा सहित गाउँलेहरु भेला भएर लाप्राक पुरानो गाउँबाट पोरा भन्ने ठाउँम्सम्म जन्ती गएका थिए । जन्ती गएका स्थानीयले गाउँको परिक्रमा पनि गरे । जैसीले (ज्योतिषिं)ले घडीपोला हेरे जुराएको साइतमा मकै गाड्ने, निकाल्ने बाजागाजा बजाउने, जन्ती जाने प्रचलन रहँदै आएको छ ।

घाटु नाचेर शुक्रबार साँझ नै मकैको बिहे सम्पन्न भएको गुरुङले बताए । मकैको विहेका लागि गाउँलेहरुले मकै जम्मा गर्छन् । प्रत्येक घरबाट जम्मा भएको मकैको खाजा तथा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहँदै आएको छ । सो मकैलाई चोख्याउने र बीउ राखेको मकैमा लगेर मिसाउने पनि प्रचलन रहेको छ । 

यस पटक धुमधामका साथ मकैको बिहे सम्पन्न भएको गुरुङले बताए । ‘मकैको बिहेका लागि साइत निकालेर सम्पन्न गरेका हौँ, अब फागुन १२÷१३ गतेबाट मकै छर्न सुरु हुन्छ,’ उनले भने । जिजुबाजेदेखि नै चल्दै आएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको उनको भनाई छ । यसरी मकैको बिहे गर्दा बालीनाली राम्रो हुने स्थानीयको मान्यता छ । ‘यो हाम्रो आत्मविश्वास हो, यसरी मकैको बिहे गरेपछि कीरा फट्याङ्ग्रा लाग्दैन, बाली राम्रो हुन्छ,’ उनले भने । 

मकैको बिहे गर्ने उत्तरी क्षेत्रको वर्षौैदेखिको परम्परा रहेको स्थानीय धन बहादुर गुरुङले बताए । ‘साइत नहेरी मकै पर्व सुरु हुँदैन, यो क्षेत्रमा यो बिहेको छुट्टै महत्व छ,’ उनले भने, ‘मकैको बिहे नगरी मकै छर्न मिल्दैन ।’ बालीनाली राम्रो होस भन्ने कामनाका साथ नै मकैको बिहे गर्ने प्रचलन रहेको उनले सुनाए । 

मकैको बिहेको साइत जुरेसँगै यहाँका स्थानीयले मकै छर्ने तयारीमा पनि जुटेका छन् । यसरी मकैको बिहे गर्दा अनिकाल नपर्ने र बिहे नगरी मकै लगाउदा अशुभ हुने मान्यता रहँदै आएको छ ।