लमजुङमा खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी तीब्र
- लमजुङलमजुङको बेंसीसहरमा फागुन ६ गतेदेखि १८ गतेसम्म हुन लागेको ‘प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव–२०८१’ तयारी तीब्र पारिएको छ । जिल्ला खेलकुद विकास समिति लमजुङले आफ्नो मातहातको सहजी खेल मैदानको स्तरोन्नतिका लागि महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।
समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले सहजी खेल मैदानको विस्तारका लागि सहयोग जुटाउन महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । ‘खेल मैदान विस्तारका लागि जग्गा खरिद गर्नुपर्नेछ । यसका लागि सरकारले बजेट नदिँदो रहेछ’, उहाँले भन्नुभयो, ‘चन्दा उठाएर पनि नसकिने ।
खेल मैदानको लागि जग्गा खरिद गर्न हामीले कुनै विकल्प नदेखेर महोत्सव आयोजना गर्ने भएका हौं ।’ उहाँका अनुसार महोत्सवको तयारी करीब ७० प्रतिशत सकिएको छ ।
महोत्सवको प्रायोजक खोज्ने कार्य, अतिथिलाई पत्राचार, कलाकार छनोटकार्यहरु सकिएको आयोजकले जनाएको छ । अहिले महोत्सवस्थल सहजी खेलमैदानमा स्टलहरु निर्माण गरिएको र बाल उद्यानहरु निर्माणको क्रममा रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार बेंसीसहरको सहजी खेल मैदान ११ ‘ए’ साइडको भएपनि पूर्ण क्षमतामा फुटबल खेलाउन सकिएको छैन । सो खेल मैदानमा गत पुसमा मात्रै प्रथम पुरस्कार १२ लाख राशीको त्रिवेणी कप फुटबल प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा विभागीय टीम, ‘ए’ डिभिजन खेल्ने टीम सहभागी थिए । खेलकुद विकास समितिका सदस्य सिजन श्रेष्ठले यस क्षेत्रकै रंगशालाको रुपमा रहेको सहजी खेल मैदानलाई अझै फराकिलो बनाउनुपर्ने र प्याराफिट निर्माण गर्नुपर्ने आवश्यक भएको बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिले यसअघि २०७३ मा धार्मिक महोत्सवको आयोजना गरी जग्गा खरिद गरेर केही फराकिलो बनाएको थियो ।
महोत्सवमा जिल्लास्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता, विद्यालयस्तरीय कराँते प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, आमा समूहको सामुहिक नृत्य प्रतियोगिता, स्नुकर प्रतियोगिता लगायत हुनेछ ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शन, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शन, उद्योग तथा व्यवसायिक प्रतिष्ठानको प्रदर्शन, कृषि, पशु तथा जडीबुटी प्रदर्शनी, सांस्कृतिक झाँकी तथा र्याली प्रदर्शनी हुनेछ ।
यस्तै, परम्परागत स्थानीय खाना महोत्सव, सरकारी तथा गैरसरकारी कार्यालयको गतिविधि प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति, विविध मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, पर्यटक टुर प्याकेजलगायत राखिने भएका छन् ।
महोत्सवमा २ सय स्टल राखिनेछन् । महोत्सवलाई सफल बनाउन मूल समारोह समिति, कार्य सम्पादन समिति, सचिवालय समिति, सल्लाहकार समिति र विभिन्न उपसमितिहरु गठन गरिएको आयोजकले जनाएको छ ।