बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
- बर्दियाबर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मधुवन नगरपालिका–९ भाट चोक बस्ने जमुना कँडेलको घर पाहुना आएका बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बस्ने रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
आँगनमा खेल्दै गरेको बालकलाई शनिबार बेलुका सात बजेतिर चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताउनुभयो ।
तत्काल प्रहरी र स्थानीयले खोजी गर्दा राति साढे नौ बजेतिर घरदेखि ५ सय मिटरको दूरीमा बालकको शव फेला परेको हो । बालकको घाँटी र टाउको पछाडि भागमा चितुवाले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ ।
नेपालसँग जोडिएको भारतको कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाले बालकलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । स्थानीयले चितुवा भएको बारे प्रहरीलाई जानकारी दिएका थिए । बालक रिहानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।