राष्ट्रिय

सेती प्रादेशिक अस्पतालका डाक्टरमाथि हातपात

- अर्जुन शाहधनगढी

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. बेदप्रकाश पन्त माथि सोमबार बिहान एक जना विबामीका कुरुवाले हातपात गरेका छन् । आइसीयूुबाट बाहिर निस्कने क्रममा ढोकामै आफूमाथि हातपात गरेको र चस्मा फुटेको डा. पन्तले बताएका छन् । 

धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानाले डा. पन्तमाथि मुक्का प्रहार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताउनुभयो । उनले विगतमा पनि यस्तै घटना गर्दै आएको बुझिएको डा. पाण्डेको भनाई छ ।

कृष्ण आइसीयूमा उपचार गराइरहेका आफ्ना बुवा रमतर रानाको कुरुवा बसेका थिए । ‘उसको बुबा न्यूरोको बिरामी हो । मैले हेरिरहेको बिरामी पनि होइनन् । म त मेडिसिन विभागमा कार्यरत छु,’ डा. पन्तले भने ‘एक्कासी म माथि प्रहार गरे । मैले त केही बुझ्नै सकिन ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले कृष्ण रानालाई नियन्त्रणमा लिइएको बताउनुभयो । ‘रानाले आईसीयूबाट बिरामीलाई चेकजाँच गरेर फर्किने क्रममा डा. पन्तमाथि हातपात गरेको बुझिएको छ । ‘डाक्टरको चस्मा फुटेको छ भने मुखमा सामान्य चोट लागेको छ,’ प्रवक्ता बोहराले भन्नुभयो, ‘कृष्णको मानसिक अस्वस्था ठीक नभएको प्रारम्भिक भनाईहरु पनि आएका छन् । हामी थप बुझ्दै छौं ।’