लिस्बनमा नेपाली दूतावासको सेवा प्रवाह सुरु
-पोर्चुगलको राजधानी लिस्बनमा नेपाली दूतावासले अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको छ । फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरण सम्बन्धी ‘कन्सुलर’ सेवा दिन शुरु गरिएको हो । घुम्ती सेवाबाट प्रहरी रिपोर्टसहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालिएको दूतावासले जनाएको छ ।
शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गरिने भएको छ ।
यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूतावासको भनाइ छ । दूतावासले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको कार्यवाहक राजदूत रामबाबु नेपालले जानकारी दिनुभयो ।