प्रेम सम्बन्धबारे विवादले उग्र रुप लिएपछि झडप
-पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुरमा स्थानीय एक युवा र युवतीको प्रेम सम्वन्धबारे विवादले उग्र रुप लिएको छ । विवाद बढ्दै जाँदा दुई समूहबीच झडप हुँदा १५ जना प्रहरीसहित २१ जना घाइते भएका छन् । झडपका क्रममा इलाका प्रहरी कार्यालयको गाडी र केटी पक्षको घर अगाडी रहेको कवाडी गोदाममा आगजनी गरिएको थियो ।
झडपका क्रममा प्रहरीले स्थिती नियन्त्रणमा लिन ५ राउण्ड अश्रु ग्यांस र तीन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले बताउनुभयो । त्यसपछि त्यहाँको स्थिति सामान्य बन्दै गएको छ । घटनास्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोे हाम्रा सहकर्मीले जनाएका छन् । घाइतेहरुको भैरहवा र जिल्ला अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।