गौरस्थित प्रादेशिक अस्पतालका ३ जना चिकित्सक स्पष्टीकरणपछि सम्पर्कविहिन
-रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीलाई उपकरणको अभाव भन्दै निजीमा पठाउने तीन जना चिकित्सकलाई अस्पताल प्रशासनले २४ घण्टे स्पष्टीकरण सोधेपछि उनीहरु सम्पर्क विहिन भएका छन् । उनीहरू सम्पर्कविहीन भएकाले अस्पतालले स्पष्टीकरणको पत्र इमेल र हुलाकमार्फत पठाउने तयारी गरेको छ ।
गत शनिबार दिउँसो प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएको थियो । घटना पछि चिकित्सकको लापरबाही भन्दै कारबाहीको माग राखेर पीडित परिवारले प्रहरी प्रशासन गुहारेका थिए । घटनाको निष्पक्ष छानबिनका लागि पीडित परिवारले दबाब दिएपछि अस्पतालले सोमबार चिकित्सकलाई स्पष्टीकरण सोधेको थियो ।
तर, पत्र भने तीनै जना चिकित्सकले बुझेका छैनन् । प्रादेशिक अस्पतालले चिकित्सक डा. पंकज साह, डा. फिरोज अन्जुम र डा. घनश्याम ठाकुरलाई स्पष्टीकरण सोधेको हो ।