राष्ट्रिय

सिन्धुपाल्चोक भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर भूकम्प गयो

- केएफएम डेस्ककाठमाडौं

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर आज बिहान ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै मानवीय तथा ठूलो भौतिक क्षति नभएको गृहमन्त्रालयले जनाएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा एक ठाउँमा भूकम्पका कारण सुख्खा पहिरो खसेको छ ।

पहिरो खसेपनि क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार भाग्नेक्रममा लडेर एक कैदीको हात भाँचिएको छ ।

३३ वर्षिय स्याङ्गवो तामाङ्ग आतिएर दुई तलामाथि बाट हाम फाल्ने क्रममा घाइते भएका हुन् ।

उनको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ ।

भोटेकोशी गाँउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निमासोना शेर्पाले भूकम्पको केन्द्रविन्दु मानववस्ती भन्दा धेरै टाढा भएकाले दुखद घटना हुन नपाएको बताउनु भयो ।

तुसारेस्थित भिरमा सुख्खा पहिरो झरेपनि अन्यतिर क्षति नभएको शेर्पाको भनाई छ ।

यसअघिको भूकम्पले खण्डहर बनेका घरहरु भने थप चर्र्र्किएका छन् ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा भारतको दार्जिलिङमा समेत महसुस गरिएको थियो।राष्ट्रिय भुकम्प मापन तथा अध्ययन केन्द्रका प्रमुख लोक विजय अधिकारीले पछिल्लो भूकम्प पनि गोरखा भूकम्पकै परकम्पन भएको बताउनुभयो ।

भूकम्पको धक्कापछि काठमाडौंसहितका सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।

सुतीरहेका सर्वसाधारणलाई भूकम्पको धक्काले त्रसित बनाएको छ । भूकम्पको धक्का देशैभर अनुभव गरिएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।