राष्ट्रिय

पानी परेपछि किसानमा खुशियाली छायो

- केएफएम डेस्ककाठमाडौं

लामो समयदेखिको खडेरीपश्चात पानी परेपछि रुकुम पश्चिम र रुकुम पूर्वका किसानमा खुशियाली छाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावकाकारण आज बिहानैदेखि कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रमा वर्षा भएको हो ।

झन्डै साढे ६ महिनापछि पानी परेकाले हिउँदेबालीका लागि ठूलो राहत हुने मुसीकोट नगरपालिका–१३ का किसान रणविर खड्काले बताउनुभयो ।

ढिलै भए पनि वर्षा भएकाले बालीनाली फस्टाउने किसानको आशा छ ।

रुकुम पश्चिमसँगै लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि झरी परिरहेको छ । सो भेगको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।

खडेरीले सुख्खापन बढ्दा हिमाली जनजीवन कष्टकर बन्दै गएकोमा वर्षाले राहत दिलाएको स्थानीयवासीको भनाई छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो सुदूरपश्चिम प्रदेशका तराई भेगमा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहितको वर्षा हुने बताएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा आज छिटपुट वर्षा हुने छ ।