माओवादी नै सक्कली मधेशवादी होः अध्यक्ष दाहाल
- काठमाडौंमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सक्कली मधेश केन्द्रित दल माओवादी नै भएको दाबी गर्नुभएको छ । अब सक्कली र नक्कली मधेश केन्द्रीत दल छुट्याउने समय आएको भन्दै उहाँले माओवादी नै सक्कली मधेशवादी भएको दाबी गर्नुभएको हो ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत सप्तरीको राजविराजमामा आज आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजसँगको अन्तक्रियामा उहाँले मधेश केन्द्रीत दलहरुको गतिविधि जनतातिर वा मधेशको हिततर्फ नभएको आरोप लगाउनुभएको हो ।
माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको उहाँको भनाई थियो । मधेशवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले माओवादी आन्दोलन र मधेशका शक्ति एकठाउँमा केन्द्रीत नभए देश अस्थिरता,अराजकता र आर्थिक रुपमा एउटा भयानक दुश्चक्रमा फस्ने खतरा रहेको टिप्पणी गर्नुभयो ।