७० प्रतिशत लैंगिक हिंसा घरभित्रै : मन्त्री तिमिल्सिना
- तिलोत्तमालुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुने गरेको बताउनु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजनाले शनिबार तिलोत्तमामा आयोजना गरेको ‘सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिंसाविरुद्ध सचेतना’मुलक कार्यक्रममा बोल्दै उहाँले त्यसबाहेक २३ प्रतिशत घटना घरकै अन्य सदस्यबाट हुने गरेको बताउनुभयो ।
उहाँले लैंगिक हिंसाविरुद्धको अभियानमा महिलाको उत्साहजनक सहभागिताले महत्व राख्ने जिकिर गर्नुभयो । लिङ्गका आधारमा हुने विभेद अन्त्यका लागि लुम्बिनी प्रदेश सरकार प्रयासरत रहेकोले महिलामा जागरुकता आवश्यक रहेको उहाँको भनाई छ । विशेषत : महिलामाथि घरबाटै हुने हिंसाको अन्त्य नै महिला समुत्थानको कडी भएको मन्त्री तिमिल्सिनाले बाउनुभयो ।
आन्तरिक रुपमा हिंसा व्यहोरिरहेका महिलाले आफूलाई परेको अन्यायविरुद्ध कति आवाज उठाउँछन् र पुरुषकै कारणले मात्र महिला हिंसामा परेको वा महिलाका कारणले मात्र पुरुष हिंसामा परेका छन् ? भन्ने विषयबारे जान्न समेत जरुरी रहेको उहाँले बताउनुभयो ।
मन्त्री तिमिल्सिनाले हिंसा हुनुमा महिला अशिक्षित हुनु, सानै उमेरमा विवाह हुनु र पारिवारिक दबाबले हुने विवाह आदि कारण रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो प्रदेशमा भने महिला साक्षरता दर प्रतिशतका हिसाबले राम्रै छ,’ उहाँले भन्नुभया, ‘साक्षरताको पछाडि लुकेको हिंसाको जरो खोतल्न र त्यसको निक्र्यौल गर्ने तरिकाबारे बुझ्न जरुरी रहेको छ ।’
घरमा हुने हिंसामा महिलाका श्रीमान वा पिता मात्र नभई अन्य सदस्य समेतको संलग्नता हुने मुद्दा पनि आइरहने भएकाले पारिवारिक शिक्षाको आवश्यकता देखिएको उहाँको भनाई छ । सार्वजनिक स्थानमा समेत महिला हिंसामा परेको घटनाबारे सञ्चार माध्यम, प्रहरीबाट जानकारी पाइरहँदा महिलाको स्वतन्त्रतामै डर पैदा भइरहेको उहाँले बताउनुभयो ।
प्रदेशमा रुपन्देही जिल्ला अन्यको तुलनामा हरेक हिसाबले अग्रसर र शिक्षितको बाहुल्यता रहेको उल्लेख गर्दै उहाँले यहाँ हुने लैंगिक हिंसाका घटनालाई न्युनिकरण गर्न तिलोत्तमा लगायत अन्य पालिकाले भूमिका खेल्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाले आफूले नै सूचक तयार गरेर लैंगिकमैत्री पालीिा बनाउन लागिरहेको जानकारी पाएकाले यस्तो सिकाई अन्यले पनि अपनाउनुपर्ने उहाँको भनाई थियो । ‘सबैले गर्ने हो भने प्रदेशमा लैंगिक हिंसाका घटनामा कमी हुने निश्चित छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले नागरिकलाई आफ्नो उपस्थिति देखाउने पनि यस्तै काम गरेर हो ।’
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले लैंगिक हिंसाविरुद्धका यस्ता कार्यक्रम समाजका लागि प्रभावकारी रहेको बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भरताको बाटोमा ल्याउन सकियो भने हिंसा न्युनिकरणमा भूमिका खेल्ने जिकिर गर्नुभयो । ‘हामी जनप्रतिनिधि लैंगिक हिंसा हुनुहुँदैन भन्ने जागरुकता ल्याउन पटक पटक कार्यक्रम गरेरै छलफल गर्छौं, महिलाका कुरा सुन्छौं, हिंसा कम गर्ने माध्यम पहिचान गर्नतर्फ ध्यान दिन्छौं,’ उहाँले भन्नुभयो, ‘प्रयास गरिराखिएको हुन्छ, तर सम्भावना सबैले पहल गरेर मात्रै हुने भएकाले साथ सहयोग चाहिन्छ ।’
उपप्रमुख जगेश्वर देवी चौधरीले पालिकालाई लैंगिकमैत्री बनाउनका लागि हरेक तहसँग छलफल गरेर सूचक तयार गरिसकेको बताउनुभयो । संघ र प्रदेश सरकारसँग नै लैंगिकमैत्री सूचक नभएका बेला तिलोत्तमाले आफै बनाएर यो आर्थिक वर्षमा तिलोत्तमालाई लैंगिकमैत्री बनाउने तयारी गरेको उहाँको भनाई छ । ‘हामीले चुनाव जितेदेखि नै यो विषयमा व्यापक छलफल गर्ने, पालिकालाई कम्तीमा लैंगिकमैत्री बनाउन सके, घरघरमा हुने हिंसाका घटना रोकिने विश्वास सहित अघि बढेका छौं,’ उहाँले भन्नुभयो, ‘जुनै प्रकारका हिंसा हुन नदिन सचेतना चाहिंदो रहेछ ।’
कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, महिला विकास अधिकृत सम्झना सुवेदी, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर राना लगायतले लैंगिक विभेद किन र कसरी हुन्छन् ?, घटनाबारे प्रहरीकहाँ जानकारी गराउन के गर्नुपर्छ ? महिलामाथि बढीरहेको हिंसा रोक्न महिलाको भूमिका कस्तो हुने ? जस्ता विषयमा प्रशिक्षण दिनु भएको थियो ।