राष्ट्रिय

लुम्बिनीमा चौंथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सुरु

- मनोज पौडेललुम्बिनी

रुपन्देहीको लुम्बिनीमा चौंथो अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) आजबाट सुरु भएको छ । लुम्बिनीको पवित्रता र अध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन चार दिने पाठ गर्न लागिएको हो । 

लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउ दक्षिणतिर फागुन २४ गतेसम्म पाठ हुने आयोजक अखिल नेपाल भिक्षु महासंघले जनाएको छ । १२ मुलुकका एक सय बढी विदेशी भिक्षु र भिक्षुणी सहभागी हुन लुम्बिनी आएका छन् । 

त्यस्तै, ४ सय बढी नेपाली भिक्षु र गुरुमा सहभागी हुने आयोजक समितिका महासचिक भिक्षु निग्रोध महाअस्थवीरले बताउनुभयो । त्रिपिटक पाठको पहिलो दिन सूत्र पिटक, दोस्रो दिन विनय पिटक र तेस्रो दिन अभिधर्म पिटक पाठ गरिनेछ । चौथौं दिन समापन कार्यक्रम राखिएको छ । 

त्रिपिटक पाठ बिहान साढे आठ बजेदेखि साँझ ५ बजेसम्म गरिनेछ । बुद्ध नेपालमा जन्मे हुर्केको र उहाँको देशना संग्रहित बौद्ध धर्मग्रन्थ त्रिपिटकबारे धेरै अज्ञान रहेकाले त्युस्को महत्व बुझाउन पाठ थालिएको महासंघ पूर्व अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरले बताउनुभयो । 

लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको विषय भएको उहाँको भनाई छ । त्रिपिटक च्यान्टिङको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले गर्ने कार्यक्रम छ ।